29/06/2026
हल्लामा संसार बिक्छ, नेप्सेमा सेयर बिक्छ!
हाम्रो बजारको एउटा बडो रमाइलो चरित्र छ: यहाँ Balance Sheet (वित्तीय विवरण) हेर्न कसैलाई फुर्सद छैन, तर फेसबुकको इनबक्समा आएको एउटा "यो स्क्रिप्ट त ३०० अंक बढ्छ रे" भन्ने म्यासेजले सिधै BUY अर्डर थिच्न बाध्य पार्छ।
नेपालका लगानीकर्तालाई कम्पनीको P/E Ratio (मूल्य आम्दानी अनुपात) कति छ भनेर सोध्यो भने भन्छन्: "त्यो छोड्नु न सर, माथि खेलौना (खिलाडी) छिरेका छन् कि छैनन्, त्यो भन्नुस्!"
परम सत्य: नेप्सेका ९०% लगानीकर्ताका लागि Valuation (मूल्यांकन) भनेको "क्लबहाउसको स्पिकरले कुन सेयरको नाम लियो" भन्ने मात्र हो।
'Stupidity' मा Panic हुने, 'Reality' मा Blind हुने!
बजारमा अचम्मको विरोधाभास छ। कुनै कम्पनीले वर्षौंदेखि २५% बोनस दिइरहेको छ, प्रगति विवरण उत्कृष्ट छ, तर त्यसको सेयर मूल्य कछुवाको गतिमा हिँड्छ। किन? किनभने त्यसमा "मसला" छैन।
तर, अर्कोतिर एउटा यस्तो हाइड्रोपावर वा फाइनान्स कम्पनी छ, जसको अफिसमा ढोका खोल्दा माकुराको जालो भेटिन्छ, नेटवर्थ माइनसमा छ, र इञ्जिनियरले खोलामा पानी छैन भनिसक्यो। तर, त्यसको मूल्य सर्किट माथि सर्किट मारिरहेको हुन्छ। जब कसैले सामाजिक सञ्जालमा हल्ला फैलाउँछ: "असार मसान्तमा यसको हकप्रद (Right Share) आउँदैछ!"
अनि सुरु हुन्छ Panic Buying।
अनि जब त्यो हल्ला झुठो प्रमाणित हुन्छ, अनि सुरु हुन्छ Panic Selling। तब लगानीकर्ताहरू भन्छन्, "धोका भयो, नियामक निकाय (SEBON) के हेरेर बसेको छ?" नियामकले त हेरिरहेकै थियो, तर तपाईंले कम्पनीको वित्तीय प्रतिवेदन कहिले हेर्नुभयो त?
नेप्से लगानीकर्ताको ३ वटा अचम्मका 'मूल्यांकन सूत्र'
हाम्रो बजारमा Fundamental Analysis (आधारभूत विश्लेषण) लाई यसरी नयाँ परिभाषा दिइएको छ:
EPS (Earnings Per Share): 'Earning Per Share' होइन, यसको मतलब त "Every Person Saying" (सबैले भनिरहेका छन्, त्यसैले किन्दिउँ) हो।
Book Value: कम्पनीको वास्तविक किताबी मूल्य होइन, यो त "ब्रोकरको भनाइ" (Broker को Value) हो। ब्रोकरले 'हुन्छ' भन्यो, सकियो।
Technical Indicators: RSI वा MACD होइन, यहाँको मुख्य इन्डिकेटर त "चिया पसलको भीड" हो। यदि चिया पसलमा ४ जनाले एउटै स्क्रिप्टको कुरा गरे भने त्यो 'Strong Buy' सिग्नल भइहाल्यो!
गम्भीर खतरातर्फ ध्यान खोई?
कुनै पनि संदेहास्पद समाचार (Suspicious News): चाहे त्यो कर नीतिको हल्ला होस् वा कुनै सञ्चालक पक्राउ परेको समाचार— त्यसले बजारमा यति ठूलो भूकम्प ल्याउँछ कि मानौँ भोलिदेखि नेपालमा सेयर बजार नै बन्द हुँदैछ। २४ घण्टाभित्र अर्बौँको सम्पत्ति प्यानिक सेलिङकै कारण स्वाहा हुन्छ।
तर, जब वास्तविक खतराको कुरा आउँछ: जस्तै कम्पनीको Non-Performing Loan (NPL) बढ्नु, Reserve रित्तिनु, वा कम्पनी टाट पल्टिने अवस्थामा पुग्नु: तब लगानीकर्ताहरू ढुक्कले सुतिदिन्छन्।
तथ्य के हो भने: नेपाली सेयर बजारमा 'भिरबाट लड्न लागेको मान्छेले लौरो समाते जस्तै' हल्लालाई आधार बनाइन्छ, तर बलियो डोरी (Valuation & Analysis) लाई भने वास्ता गरिँदैन।
अब के गर्ने त?
प्रिय सेयर खेलाडी साथीहरू, सेयर बजार भनेको 'जुवा घर' होइन र यसलाई 'सट्टा बजार' मात्र बनाएर राख्नु तपाईं आफ्नै गोजी रित्याउनु हो।
हल्लाको पछि लाग्न छोड्नुस्: हल्ला फैलाउनेहरू आफू 'Exit' हुनका लागि तपाईंलाई 'Enter' गराइरहेका हुन्छन्।
मूल्यांकन (Valuation) सिक्नुस्: कम्पनीको नाफा, व्यवसाय विस्तारको सम्भावना र सञ्चालकको ट्र्याक रेकर्ड हेर्न १ मिनेट मात्रै खर्च गर्नुभयो भने, हल्लाले तपाईंको निद्रा हराम गर्न सक्ने छैन।
प्यानिक हुन बन्द गर्नुस्: यदि तपाईंले राम्रो कम्पनी सस्तो मूल्यमा किन्नुभएको छ भने, बजार १०० अंकले घट्दा पनि तपाईंले डराउनु पर्दैन। बजारको गिरावट त थप किन्ने अवसर मात्र हो।
अर्को पटक अर्डर प्लेस गर्नुअघि आफूलाई सोध्नुस्: "म कम्पनीको सेयर किन्दैछु कि कसैको हल्ला?" उत्तर तपाईं आफैँले पाउनुहुनेछ।
Happy Investing
Article By Rukesh Manandhar (Nepsealpha)