14/10/2026
सहकारी पिडित मानधोजको प्रश्न
‘के म जीवित छँदै पसिनाको कमाइ फिर्ता पाऊँला र ?’
२०८३ असोज २८
पुकार शाक्य
बिर्तामोड।
ललितपुरको लुभुका साँघुरा र धुलाम्मे गल्लीहरूमा अचेल एउटा रुग्ण, गलेको शरीर निरन्तर भट्किरहेको देखिन्छ। उमेरले साढे सात दशक (७५ वर्ष) पार गरिसकेका ती वृद्धका आँखामा बाँच्ने रहरभन्दा बढी जीवनको गहिरो थकान र लाचारी पोखिएको छ। एकातिर क्यान्सर र मुटुरोगका औषधिका अनगिन्ती पुर्जा, अर्कातिर धरानको बराह बचत तथा ऋण सहकारीको एउटा रित्तो पासबुक— यही दुई थोक च्यापेर उनी दिनहुँ सडक नापिरहेका हुन्छन्।
यी हुन् ७५ वर्षीय भूपू ब्रिटिस सैनिक मानधोज राई।
जवानीको उर्वर उमेर— झन्डै १५–१६ वर्ष उनले ब्रिटिस सेनाको कडा अनुशासन, कठोर सैन्य तालिम र रणभूमिमा रगत–पसिना बगाएर बिताएका थिए। देश बाहिर पराई भूमिमा बगाएको त्यही रगत र पसिनाको जगमा उनले धरानमा आफ्नो पसिनाको कमाइबाट जमिन जोडेका थिए। तर, उमेर ढल्किँदै जाँदा हातगोडा चल्न छाड्ने बुढेसकालको बेला कसैको भर पर्नु नपरोस्, औषधोपचार र छाक टार्न सहज होस् भन्ने सोचेर उनले त्यो जमिन बेचे। आएको करिब ५० लाख रुपैयाँ धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको खातामा सुरक्षित भविष्यको सपनासहित जम्मा गरे। उनलाई लागेको थियो— जीवनको साँझमा यो पैसा नै आफ्नो सबैभन्दा बलियो सहारा बन्नेछ।
तर नियतिले यति क्रूर मोड लियो कि, विगत पाँच वर्षदेखि बराह सहकारीका सञ्चालकहरूले बचतकर्ताको करिब ११ देखि १४ अर्बौँ रकम हिनामिना गरेर एकाएक बेपत्ता भए। सञ्चालकहरू भागेसँगै मानधोजको जीवन पनि एउटा कहिल्यै उज्यालो नदेखिने अँध्यारो सुरुङभित्र धकेलियो। बुढेसकालको बलियो लौरो बन्ला भनेर साचेको लगभग ५० लाख रुपैयाँ रातारात बालुवामा पानी खन्याएझैँ भइदिएपछि, आज यो उमेरमा मानधोज आफ्नै कमाइ फिर्ता माग्न मगन्तेझैँ सरकारी अड्डा र मन्त्रालयका ढोका चाहार्न विवश छन्। कहिले उनी न्याय माग्दै सरकारी निकायका चिसो सिँढी चढ्छन्, त कहिले हातमा प्लेकार्ड बोकेर सहकारी पीडितहरूको सडक आन्दोलनमा चर्को घाममा नारा लगाउन पुग्छन्।
मानधोजको यो संघर्ष केवल गुमेको पैसा फिर्ता लिने आर्थिक लडाइँ मात्र होइन; यो त जीवन र मृत्युको भयानक दोसाँधमा उभिएर सास जोगाउने अन्तिम युद्ध हो।
मानधोज स्वयं थाइराइड र क्यान्सर जस्तो प्राणघातक रोगको उपचारको घेराबन्दीमा छन्। त्यसमाथि मुटुरोग र उच्च रक्तचापको पुरानो समस्याले उनको शरीर दिनानुदिन गल्दै गएको छ। बिहान-बेलुका मुठीभरिका औषधि निल्नु उनको दैनिक बाध्यता हो। तर, बज्रपात यतिमै सकिँदैन। उनकी जीवनसङ्गिनीको अवस्था त्योभन्दा पनि कारुणिक छ। उनी स्तन क्यान्सरबाट ग्रसित भइन् र शल्यक्रियामार्फत स्तन नै फाल्नु पर्यो। क्यान्सरको घाउ निको हुन नपाउँदै हेपाटाइटिस ‘बी’, पाठेघर तथा पित्तथैलीको जटिल शल्यक्रिया झेल्नुपर्यो। अहिले उनी कलेजोको गम्भीर समस्याले थलिएर छटपटाइरहेकी छन्। घरमा दुवै बूढाबूढी बिरामी छन्, तर उपचार गराउने र औषधि किन्ने पैसा भने सहकारीको बन्द ढोकाभित्र बन्धक बनेको छ।
बराह सहकारीका सञ्चालकहरू बचतकर्ताको पसिना लुटेर फरार भएको पाँच वर्ष बितिसक्यो। विडम्बना, न त आजसम्म ती फरार सञ्चालकहरूलाई समातेर कानुनी कठघरामा उभ्याइयो, न त राज्यले सर्वस्व गुमाएका यस्ता पीडितहरूका लागि कुनै राहत योजना वा प्रभावकारी छानबिन नै अघि बढायो। अरूको रक्षाका लागि आफ्नो उर्वर जवानी अर्पेका एउटा भूपू सिपाहीलाई आज आफ्नै मातृभूमिमा कानुन, सरकार र न्याय प्रणालीको अस्तित्व छ वा छैन भन्ने गम्भीर संशय हुन थालेको छ। आफ्नै पसिनाको मूल्य फिर्ता माग्दा-माग्दै उनको शरीर गलेको छ, मन टुटेको छ र आशाको त्यान्द्रो खिइँदै-खिइँदै चुँडिने अवस्थामा पुगेको छ।
सरकारी संयन्त्रले कुनै द्रुत मार्गबाट पहल गरेर छिटो न्याय देला भन्ने मानधोजको विश्वास दिनानुदिन धमिलिँदै गएको छ। जटिल कानुनी प्रक्रिया र प्रशासनिक ढिलासुस्तीको चक्रव्यूहमा अल्झिएर न्यायको ढोका कहिले खुल्छ, कसैलाई पत्तो छैन।
यसै सन्दर्भमा, धरान उपमहानगरपालिका सहकारी शाखाका कर्मचारी राईले भने सहकारीको यो विकराल समस्या समाधानका लागि छुट्टै व्यवस्थापन समिति गठन गरेर प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताएका छन्। उनका अनुसार आगामी नगरसभा बैठकबाट सहकारी नियमावली पारित भएपछि मात्र ऐनबमोजिम समिति गठन हुने र बाँकी प्रक्रिया अगाडि बढ्नेछ। तर, नगरसभाबाट नियमावली कहिले पारित हुने? समिति कहिले बन्ने? अनि त्यो समितिले काम गरेर पीडितको हातमा पैसा कहिले आइपुग्ने? यी सबै प्रश्नहरू प्रशासनिक फाइल र मितिको अन्योलमै अल्झिएका छन्।
कागजी प्रक्रिया र समितिको यो अनन्त प्रतीक्षाको बीचमा, जीवनको कठिन मोडमा उभिएर लडिरहेका भूपू सैनिक मानधोज राईको एउटै तिखो प्रश्नले सिङ्गो राज्यव्यवस्था र न्याय प्रणालीको छातीमा प्रहार गरिरहेको छ—
“के म जीवित छँदै मेरो पसिनाको कमाइ फिर्ता पाऊँला र?”